Ads

टोखा मेयर कप जितकुण्डो भोलिदेखि


काठमाडौं । नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिता भनेलि शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा चार राष्ट्रका ९० खेलाडी सहभागी हुने आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जनाए ।

नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहने आयोजकले जनाएको छ । पुरुषमा आठ र महिलामा दुई गरी १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सबै स्पर्धाका पदक विजेतालाई नगदबाट पुरस्कृत गरिने छ । टोखा नगरपालिकाको मुख्य प्रायोजनामा हुन लागेको दुई दिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुनेछ ।

प्रतियोगितालाई लक्षित गरी सञ्चालन गरिएको सातौं जित कुण्डो सेमिनार बिहीबार सम्पन्न भएको छ । राखेप हातामै भएको दुईदिने सेमिनार अन्तर्राष्ट्रिय जितकुण्डो प्रशिक्षक सिफु जोक्युन मार्शिलोले सञ्चालन गरेका थिए । उनलाई आयोजक संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिवबहादुर थापाले सहयोग गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू