Ads

पार्टीका नेताबाटै घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना फैलाउने काम भयो– भट्टराई


योगेश भट्टराईले पार्टीभित्रकै माथिल्लो तहका नेताबाट आफू लगायत केही नेताविरुद्ध घृणायुक्त अभिव्यक्ति र मिथ्या सूचना फैलाइएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का उपमहासचिव भट्टराईले पार्टीभित्र भइरहेको ‘मिसइन्फर्मेसन’ र ‘हेट स्पिच’ तत्काल बन्द गर्न आग्रह गरेका हुन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेका कारण पछिल्लो सचिवालय बैठक उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको जानकारी दिँदै उनले यस्तो संवेदनशील घडीमा नकारात्मक टिप्पणी हुनु अशोभनीय भएको बताएका छन्।

पार्टीभित्रैबाट नियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको संकेत गर्दै उनले भने, “यसबीचमा पार्टीका माथिल्लो तहका नेताहरूबाट म लगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको छ।”

उनले ‘शरू शर्मा’ नामको नक्कली फेसबुक आईडी यस्तो गतिविधिमा सक्रिय रहेको समेत उल्लेख गरेका छन्।

भट्टराईका अनुसार अहिले पार्टीको मुख्य प्राथमिकता एकता जोगाउनु र गुमेको जनविश्वास पुनः आर्जन गर्नु हो। पार्टीलाई बहुआयामिक रूपमा रूपान्तरण गर्न उपयुक्त समयमा स्थापित प्रक्रियामार्फत खुला छलफल र बहस आवश्यक रहेको उनले बताएका छन्।

“मिसइन्फर्मेसन, डिस्इन्फर्मेसन र हेट स्पिच बन्द गरौँ,” उनले भनेका छन्, “फेरि पनि भन्छु, आत्मभत्सर्ना होइन, जमेर आत्मसमीक्षा गरौँ।”

Ads

सम्बन्धित पोष्टहरू