Ads

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण सम्पन्न


नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण सम्पन्न भएको छ। तोकिएको समयभन्दा करिब डेढ महिनाअघि नै निर्माण सकिए पनि भवन अझै औपचारिक रूपमा आयोजनालाई हस्तान्तरण हुन बाँकी छ।

नेपालगञ्ज विमानस्थल मा बनेको यो नयाँ टर्मिनल भवन गुणस्तरका हिसाबले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा उत्कृष्ट रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

काठमाडौँपछिको ठूलो विमानस्थलका रूपमा चिनिने नेपालगञ्जबाट भारतका प्रमुख सहरहरू दिल्ली र लखनउमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने लक्ष्यका साथ यो टर्मिनल भवन अन्तर्राष्ट्रिय स्तरअनुसार निर्माण गरिएको हो।

शर्मा एण्ड कम्पनीले विसं २०७९ पुसदेखि सुरु गरेको निर्माण कार्य म्याद सकिनुभन्दा अघि नै पूरा गरेको हो। करिब रु २ अर्ब ९८ करोड लागतमा बनेको यो भवन सेमी–बेसमेन्टसहित तीन तलाको छ, जसमा बेसमेन्टलाई व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिनेछ।

अत्याधुनिक प्रविधि र सुविधासहितको यस टर्मिनलले ‘पिक आवर’मा प्रतिघण्टा १,६०० यात्रुलाई सेवा दिन सक्ने क्षमता राख्छ। करिब ५,०७५ वर्गमिटर क्षेत्रफलमा फैलिएको भवनभित्र १४ वटा चेकजाँच काउन्टर, तीनवटा भिआइपी कक्ष, बालबालिकाका लागि खेल्ने क्षेत्र, भन्सार तथा क्वारेन्टाइनका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था गरिएको छ।

यसका साथै, भवन परिसरमा बगैँचा, ५ देखि १४ मिटर फराकिलो सडक, ढल तथा वर्षा पानी निकासका लागि आधुनिक नाला प्रणालीसमेत निर्माण गरिएको छ, जसले विमानस्थललाई थप व्यवस्थित र आकर्षक बनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू