गगन थापाले नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन्। उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामापत्रमा उनले विशेष महाधिवेशन समयमै सम्पन्न हुन नसक्दा निर्वाचन परिणाम प्रतिकूल भएको स्पष्ट पारेका छन्।
थापाका अनुसार पार्टीभित्र सुरु भएको परिवर्तनले कार्यकर्तामा उत्साह जगाए पनि “बदलिएको कांग्रेस”को सन्देश आम मतदातासम्म प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय नपुग्नु नै कमजोर नतिजाको मुख्य कारण बन्यो। उनले फागुन २१ मा सम्पन्न निर्वाचनको परिणामलाई समय अभावसँग जोड्दै, यदि विशेष महाधिवेशन बिना नै चुनावमा जानुपरेको भए अवस्था अझ प्रतिकूल हुने दाबी गरेका छन्।
राजीनामापत्रमा उनले नेतृत्वको पूर्ण जिम्मेवारी स्वीकार गर्दै भनेका छन्— पार्टी आफ्नो नेतृत्वमा निर्वाचनमा गएको हुँदा परिणामप्रतिको सम्पूर्ण जवाफदेहिता आफूले लिनेछन्। निर्वाचन सकिएलगत्तै राजीनामा दिने सोच बनाए पनि आवश्यक कामहरू सम्पन्न गरेपछि मात्रै औपचारिक रूपमा पद त्यागेको उनले उल्लेख गरेका छन्।
थापाले अब देशभर पुगेर नेता–कार्यकर्ता र नागरिकसँग संवाद गर्ने योजना पनि सार्वजनिक गरेका छन्। पार्टी सुधार, पुनर्निर्माण र सुदृढीकरणको अभियानमा अझ सक्रिय रहने प्रतिबद्धता जनाउँदै उनले राजीनामा अन्त्य नभई “आत्मसमीक्षा र पुनर्जागरणतर्फको प्रारम्भिक कदम” भएको बताएका छन्।
उनकै नेतृत्वमा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिटमा सीमित भएको थियो। आफू पनि चुनावमा पराजित भएपछि नैतिक जिम्मेवारीस्वरूप उनले पद त्यागेका हुन्।
यद्यपि, पार्टीभित्रका नेताहरूका अनुसार उनको राजीनामा भोलि बस्ने केन्द्रीय समिति बैठकले अस्वीकृत गर्ने सम्भावना उच्च रहेको छ।
प्रतिक्रिया दिनुहोस्