पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा निर्वाचन-२०८२ मा पार्टी उम्मेदवारलाई भोट नदिने आफ्नै नेता–कार्यकर्तामाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित बैठकमा उनले आन्तरिक अनुशासन कडाइका साथ लागू गर्ने संकेत दिएका हुन्।
प्रचण्डका अनुसार प्रारम्भिक रिपोर्टमा करिब ५० प्रतिशत भोट राष्ट्रिय स्वतन्त्र पार्टी को चुनाव चिह्न ‘घण्टी’मा गएको देखिएको छ। उनले कसले पार्टीलाई मत दिएन र को ‘घण्टी’तर्फ गयो भन्ने विस्तृत विवरण अनिवार्य रूपमा पेश गर्न निर्देशन दिँदै त्यस्ता व्यक्तिमाथि कारबाही नगरे पार्टी नै कमजोर हुने चेतावनी दिए।
उनले पार्टी पुनर्गठनको सुरुवात नै अनुशासनबाट हुने स्पष्ट पार्दै कारबाही प्रक्रिया केन्द्रीय सदस्यबाटै सुरु गरिने बताए। “ठोस रिपोर्ट ल्याउनुहोस्, कसले भोट हालेन, को घण्टीतिर गएको देखियो, तिनलाई आँखा चिम्लेर कारबाही गर्छौँ,” प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।
जेन-जी आन्दोलनपछि नेपाली कम्युनिस्ट पार्टी गठन भई ठूलो राजनीतिक शक्ति बन्ने दाबी गरिए पनि फागुन २१ को निर्वाचनमा अपेक्षित परिणाम आउन सकेन। जहाँ रास्वपाले १२५ सिट जित्दै स्पष्ट बहुमत नजिक पुगेको छ, त्यहीं नेकपा भने मात्र ८ सिटमा सीमित हुन पुगेको छ।
निर्वाचन परिणामपछि पार्टीभित्र आत्ममूल्यांकन, अनुशासन कडाइ र पुनर्गठनको बहस चुलिँदै गएको छ। प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई पार्टीभित्र ‘कडा सन्देश’का रूपमा हेरिएको छ, जसले आगामी दिनमा नेकपाको आन्तरिक संरचना र नेतृत्व शैलीमा ठोस परिवर्तनको संकेत गरेको विश्लेषण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्