प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका छन्।
पदभार सम्हालेपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै केसीले आफ्नो सीमित अवधिको सभामुखीय भूमिकामा संसद्लाई निष्पक्ष, पारदर्शी र मर्यादित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सभामुखको भूमिका केवल बैठक सञ्चालनमा सीमित नभई देशको समग्र राजनीतिक संस्कृतिको प्रतिनिधित्वसँग जोडिएको बताए।
“मेरो सीमित समयभित्र निष्पक्ष र पारदर्शी रूपमा सभामुखको भूमिका निर्वाह गर्छु। सभामुखले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्छ र संसदभित्र सबै सांसदहरूको विशेषाधिकारको संरक्षकको रूपमा भूमिका खेल्नुपर्छ,” केसीले भने।
उनले आफू सम्पूर्ण सांसदहरूको अधिकारको रक्षा गर्ने अभिभावकका रूपमा प्रस्तुत हुने स्पष्ट पारे।
नयाँ सभामुखको निर्वाचन नभएसम्म केसीले प्रतिनिधि सभाको बैठक सञ्चालन गर्नुका साथै संसदका अन्य व्यवस्थापकीय जिम्मेवारीसमेत सम्हाल्नेछन्।
प्रतिक्रिया दिनुहोस्