Ads

राष्ट्रपतिको अपिल: लोकतन्त्र सुदृढ बनाउन सबै एक ठाउँमा उभिनुपर्छ


राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले व्यक्त गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिको आकांक्षालाई व्यवहारमा उतार्न अब जनप्रतिनिधिहरूको काँधमा ठूलो जिम्मेवारी आएको बताएका छन्।

बुधबार निर्वाचन आयोग नेपालले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रमा विचार फरक हुन सक्ने भए पनि राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए। “जनताले दिएको मतादेशले देशको दिशा निर्धारण गरेको छ, अब त्यसलाई कार्यान्वयन गर्ने जिम्मा जनप्रतिनिधिहरूको हो,” उनले भने।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल उद्देश्य जनताको जीवनस्तर उकास्नु र मुलुकलाई समृद्ध बनाउनु रहेको उल्लेख गर्दै यस लक्ष्य हासिल गर्न सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताए। साथै, निर्वाचनमा नागरिकहरूको उत्साहपूर्ण सहभागिताले लोकतान्त्रिक प्रणालीप्रतिको विश्वासलाई अझ मजबुत बनाएको उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले यसपटकको निर्वाचनलाई थप व्यवस्थित, पारदर्शी र वातावरणमैत्री बनाउन आयोगले खेलेको भूमिकाको प्रशंसा गरे। मतदाता सहभागिता वृद्धि, मितव्ययीता, आचारसंहिता कार्यान्वयन र ‘हरित निर्वाचन’ अवधारणाको प्रयोग उल्लेखनीय रहेको उनले बताए।

“निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र कम खर्चिलो बनाउन आयोग सफल भएको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा पाएको छ,” उनले भने।

निर्वाचनलाई लोकतन्त्रको मेरुदण्डको रूपमा व्याख्या गर्दै राष्ट्रपति पौडेलले जटिल परिस्थितिका बीच सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन योगदान दिने सरकार, आयोग, कर्मचारी, सुरक्षाकर्मी र सम्पूर्ण नागरिकप्रति आभार व्यक्त गरे।

Ads

सम्बन्धित पोष्टहरू