Ads

‘सम्मान खोज्दै बर्दी’-प्रहरीको रूप फेर्ने गृहमन्त्री गुरुङको प्रतिवद्धता


गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीको जीर्ण पोसाक र उपकरण तत्काल परिवर्तन गर्नुपर्ने बताएका छन्।

सोमबार नेपाल प्रहरीको प्रधान कार्यालय निरीक्षण गर्दै उनले प्रहरीको वर्तमान स्वरूपले अपेक्षित सम्मान नझल्काएको टिप्पणी गरे।

उनले भने, “विदेशका प्रहरी हेर्दा तत्काल अपराधी नियन्त्रण गर्छन् जस्तो देखिन्छ, तर हाम्रोमा उद्रेको लुगा र च्यातिएको बुट देखिन्छ। अब हामी परिवर्तन गर्छौँ, प्रहरीलाई हेर्दा नै आदर आउने बनाउँछौँ।”

सीमित स्रोत–साधनका बाबजुद पनि प्रहरीले जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरिरहेको प्रशंसा गर्दै उनले आगामी दिनमा अझ निर्धक्क भएर काम गर्न निर्देशन दिए। साथै, प्रहरीको काममा कुनै पनि तहबाट हस्तक्षेप नहुने स्पष्ट पारे।

गृहमन्त्री गुरुङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिँदै नागरिक–प्रहरी सम्बन्ध सुदृढ बनाउन शिष्ट व्यवहार र प्रभावकारी सेवा आवश्यक रहेको बताए।

कार्यक्रमका क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की भने भावुक देखिए। प्रहरीको पोसाकको अवस्था सम्झँदै उनले “यो निलोभन्दा पनि कालो बर्दी धान गोदामको पालेले लाउनेभन्दा राम्रो होस् भन्ने चाहना हो…” भन्दै भावुक अभिव्यक्ति दिएका थिए।

Ads

सम्बन्धित पोष्टहरू