प्रधानमन्त्री बालेन्द्र शाह ले गण्डकी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफलमा गण्डकी प्रदेशका समसामयिक समस्या र विकास निर्माणका विषयमा केन्द्रित रहेर कुराकानी भएको जनाइएको छ।
छलफलका क्रममा सांसदहरूले आफ्नो क्षेत्रका पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा सडक विस्तारसँग सम्बन्धित समस्या र आवश्यकताहरू राखेका थिए। प्रधानमन्त्री शाहले ती समस्याको समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै आवश्यक सहजीकरण गर्ने आश्वासन दिएका छन्।
यसअघि पनि प्रधानमन्त्री शाहले सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशका सांसदहरूसँग यस्तै छलफल गरिसकेका छन्। प्रदेशगत रूपमा सांसदहरूसँग प्रत्यक्ष संवाद गर्दै विकासका प्राथमिकता निर्धारण गर्ने सरकारको प्रयासलाई निरन्तरता दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्