नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारद्वारा लिइँदै आएको वैदेशिक ऋणको पारदर्शितामाथि प्रश्न उठाएका छन्।
दिगो पूर्वाधार विकासका लागि वैदेशिक ऋण आवश्यक र बाध्यतासमेत भएको उल्लेख गर्दै उनले वर्तमान सरकारको नियतमाथि शंका व्यक्त गरेका हुन्। पोखरेलले विगतमा विदेशी ऋणकै कारण देश डुब्ने खतरा औंल्याउँदै आलोचना गर्नेहरू नै अहिले सत्तामा पुगेपछि ठूलो परिमाणमा ऋण लिइरहेको टिप्पणी गरेका छन्।
“हिजो विदेशी ऋणले देश डुबायो भनेर आलोचना गर्नेहरू नै आज नीति तथा कार्यक्रम र प्राथमिकता संसद्मा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन्,” उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “यस्तो अवस्थामा स्वाभाविक रूपमा प्रश्न उठ्छ– हिजो विरोध किन ? आज स्वीकार किन ?”
उनले सरकारले लिने ऋणको उद्देश्य, उपयोगिता र प्राथमिकताबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन्। साथै, संसद् र जनताप्रति उत्तरदायी बन्दै पारदर्शी रूपमा जवाफ दिन सरकारलाई आग्रह गरेका छन्।
पोखरेलले कुनै ठोस योजना र स्पष्ट प्राथमिकताविना ऋण थपिँदै जाँदा त्यसले दीर्घकालीन रूपमा मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्ने चेतावनीसमेत दिएका छन्।
प्रतिक्रिया दिनुहोस्