गृहमन्त्री सुधन गुरुङ आज काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणमा जाने भएका छन्।
वर्षायाममा प्रत्येक वर्ष दोहोरिने बाढीका कारण स्थानीय बासिन्दाले ठूलो सास्ती बेहोर्नुपरेको गुनासो बढेपछि उनी वस्तुस्थिति बुझ्न त्यसतर्फ जान लागेका हुन्।
रोशी खोलामा आउने बाढीले बर्सेनि आसपासका बस्ती तथा खेतीयोग्य जमिनमा गम्भीर क्षति पुर्याउँदै आएको छ। वर्षातको समयमा हुने जनधनको क्षति र निरन्तर दोहोरिने समस्याबारे स्थानीयबाट पटक–पटक उजुरी आएपछि गृहमन्त्रीले टोलीसहित प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।
निरीक्षणका क्रममा उनले बाढी प्रभावित क्षेत्रको वर्तमान अवस्था, जोखिममा रहेका बस्तीहरू तथा सम्भावित क्षतिको आकलनबारे सम्बन्धित निकायबाट विस्तृत जानकारी लिनेछन्। साथै, उद्धार तथा राहत कार्यको तयारी अवस्था र आपतकालीन व्यवस्थापनका उपायहरूको पनि समीक्षा गर्ने जनाइएको छ।
स्थलगत निरीक्षणपछि गृहमन्त्रीले बाढी नियन्त्रण, पूर्वाधार संरक्षण तथा दीर्घकालीन सुरक्षाका उपायहरू अवलम्बन गर्न सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ। साथै, जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि जोड दिइने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्