शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्र वर्तमान सरकारको प्राथमिकतामा रहेको बताएका छन् । कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला क्रिकेट मैदान तथा खेलग्रामको निरीक्षणपछि मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
‘खेलकुद हाम्रो प्राथमिकतामा नै छ,’ उनले भने, ‘स्टेडियम निर्माण पनि प्राथमिकतामा छ । त्यसका लागि स्रोत कसरी जुटाउन सकिन्छ भन्ने विषयमा हामी छलफलमै छौँ ।’
सुदूरपश्चिममा खेलकुदभित्र पनि क्रिकेट बढी लोकप्रिय भएकाले फाप्ला निर्माणका लागि पनि स्रोत जुटाउने प्रयासमा सरकार रहेको मन्त्री पोखरेलले बताए । अर्थ मन्त्रालय, नेपाल क्रिकेट संघ, खेलकुद परिषद्लगायतका निकायसँग खेलकुद मन्त्रालय छलफलमा रहेको मन्त्री पोखरेलले बताए ।
निरीक्षणका क्रममा फाप्ला मैदानमा मन्त्री पोखरेलले क्रिकेट पनि खेलेका थिए । प्रतिनिधिसभा सदस्य केपी खनालको बलिङमा मन्त्री पोखरेलले ब्याटिङ गरेका थिए । मन्त्री पोखरेलको बलिङमा खनालले ब्याटिङ गरेका थिए ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको भोलि हुने सिनेट बैठकका लागि मन्त्री पोखरेल सुदूरपश्चिम आएका हुन् । यसअघिका सबै सिनेट बैठक संघीय राजधानीमा बसेका थिए भने गेटामा पहिलोपटक बैठक बस्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्