बेन्जामिन नेतन्याहू ले अमेरिका र इरानबीच भएको दुई साताको युद्धविराम सम्झौता लेबनानमा लागू नहुने बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले लेबनानको अवस्था फरक रहेको भन्दै त्यहाँ इजरायली सैन्य कारबाही जारी रहने स्पष्ट पारे।
नेतन्याहूले अमेरिकाले इरानविरुद्धको आक्रमण स्थगित गर्ने निर्णयलाई समर्थन जनाएका छन्। साथै, अमेरिकाले इरानलाई आणविक, क्षेप्यास्त्र तथा आतंकवादी खतरामुक्त बनाउने लक्ष्यसहित आगामी वार्ता इस्लामाबाद मा गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
यसअघि शहबाज शरीफ ले अमेरिका, इरान तथा उनीहरूका सहयोगीबीच लेबनानसहित सबै क्षेत्रमा तत्काल युद्धविराम लागू भएको बताएका थिए। तर इजरायलले उक्त दाबी अस्वीकार गर्दै लेबनान यस सम्झौतामा नपर्ने जनाएको हो।
इरान समर्थित हिज्बुल्लाह ले गत मार्च २ देखि इजरायलमाथि आक्रमण सुरु गरेपछि लेबनान पनि द्वन्द्वमा तानिएको हो। त्यसयता इजरायलले लेबनानमा आक्रमण तीव्र पारेको छ।
हालसम्मको आक्रमणमा १ हजार ५०० भन्दा बढी मानिसको ज्यान गएको र १० लाखभन्दा बढी नागरिक विस्थापित भएको बताइएको छ। यद्यपि, यस विषयमा हिज्बुल्लाह वा लेबनान सरकारले औपचारिक प्रतिक्रिया दिएको छैन।
प्रतिक्रिया दिनुहोस्