प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह को संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज बस्दैछ।
मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार गठन गरिएको उक्त कार्यदलको बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा बस्ने तय भएको छ।
संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न सरकारले विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा कर्मचारीतन्त्रका विज्ञहरू समेटेर कार्यदल गठन गरेको हो। कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, नेकपा (एमाले) का तर्फबाट भीष्मनाथ अधिकारी तथा नेकपाका तर्फबाट देवप्रसाद गुरुङ सदस्य रहेका छन्।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाबाट मनोज भट्ट सदस्य रहेका छन्। नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले भने अझै आफ्ना प्रतिनिधि पठाउन बाँकी छ। ती दलमा आन्तरिक छलफल भइरहेकाले सम्भवतः आजै सदस्यहरूको टुंगो लाग्ने जनाइएको छ।
कार्यदलमा सरकारी तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल सदस्य छन्। कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री कार्यालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी लाई तोकिएको छ।
कार्यदललाई संविधानमा परिमार्जन आवश्यक देखिएका विषयमा राजनीतिक तथा कानुनी अध्ययन गरी बहसपत्र तयार गर्ने कार्यादेश दिइएको छ।
प्रतिक्रिया दिनुहोस्