प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग बुधबार सामूहिक भेट तथा संवाद गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्र सङ्घका राजदूत एवं नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो।
भेटका क्रममा राजदूत तथा नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै, उनीहरूले नेपाल सरकारका कार्यहरूमा सहयोग र समर्थनको प्रतिबद्धता जनाएका थिए।
प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई पुनः दोहोर्याउँदै छिमेकी तथा मित्र राष्ट्रहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
उनले शान्ति साझा प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै विदेशमा रहेका नेपाली श्रमिक र समुदायको सुरक्षा तथा हित सरकारको उच्च प्राथमिकतामा रहेको बताए। साथै, सुशासन, आर्थिक विकास र जनजीवन सुधारमा सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे।
भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई लगायतका उच्च सरकारी अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्