इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबननसँग कुनै युद्धविराम नभएको बताएका छन्। नेतन्याहुले उत्तरी इजरायलका नागरिकलाई सम्बोधन गर्दै भनेका छन् कि हेजबुल्लाहमाथि पूर्ण शक्तिका साथ आक्रमण जारी रहनेछ र सुरक्षा सुनिश्चित नभएसम्म रोकिने छैन।
उनले यसअघि लेबननसँग प्रत्यक्ष वार्ता सुरु गर्ने निर्देशन दिएका थिए। वार्ताको उद्देश्य हेजबुल्लाहले हतियार त्याग्ने र इजरायल–लेबनानबीच शान्तिपूर्ण सम्बन्ध स्थापना गर्नु रहेको नेतन्याहुले बताए।
मंगलबार राति अमेरिका र इरानबीच दुई साता युद्धविरामको सहमति भए तापनि बुधबार इजरायलले लेबननमा भीषण हवाई आक्रमण गरेको छ। यसमा २०० भन्दा बढी नागरिक मारिएका र हजारौं घाइते भएका छन्। आक्रमणले दक्षिणी लेबननस्थित चौकिन सहरको गाउँ समेत ध्वस्त भएको छ।
यसैबिच हेजबुल्लाहले उत्तरी इजरायलमा रकेट आक्रमण गरेर प्रतिकार गरेको छ। लेबननमा युद्धविराम लागू हुन्छ कि हुँदैन भन्ने विषयमा अहिले विवाद जारी छ, जहाँ इरानले यसमा सहमति रहेको दाबी गरिरहेको छ भने अमेरिकाले भने यो समावेश नभएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्