Ads

निजी क्षेत्र राष्ट्र निर्माणको साझेदार र ‘आर्थिक इन्जिन’ हो: राष्ट्रपति पौडेल


राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा मात्र नभई राष्ट्र निर्माणको अभिन्न साझेदार र देशको ‘आर्थिक इन्जिन’ का रूपमा हेर्नुपर्ने बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सको ७५ औँ हीरक जयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, “निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुन्छ। निजी क्षेत्रलाई विकासको अभियानसँगै लिएर सरकारले अघि बढ्न जरुरी छ।”

उहाँले नेपालको निजी क्षेत्रको संघर्ष, समर्पण र उपलब्धि स्मरण गर्दै चेम्बरले मुलुकको आर्थिक समृद्धिमा पुर्याएको योगदानको प्रशंसा गरे। कोभिड महामारी, आपूर्ति श्रृङ्खलामा आएको अवरोध र उत्पादनमा आएको गिरावटले अर्थतन्त्रमा चुनौती ल्याएको उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले देशको भविष्य युवा पुस्ताको हातमा रहेको भन्दै ‘ब्रेन ड्रेन’ रोक्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने बताए। साथै, उद्यमशीलता, प्रविधि र सृजनशीलता मार्फत युवाहरूलाई आर्थिक गतिविधिमा जोड्नुपर्ने आवश्यकता औंल्याए।

उहाँले डिजिटल अर्थतन्त्र, हरित विकास र स्टार्टअप संस्कृतिको विकासमा जोड दिँदै भने, “परम्परागत सोचभन्दा बाहिर निस्केर नवीनता, नवप्रवर्तन र साहसिक निर्णयहरू लिन आवश्यक छ। निजी क्षेत्र केवल आर्थिक वृद्धिको आधार मात्र होइन, यो देशको आर्थिक इन्जिन हो।”

राष्ट्रपतिले सरकारलाई सुझाव दिनु भयो कि निजी क्षेत्रलाई साथमा लिएर संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय सुदृढ गर्दै समग्र विकास प्रक्रियालाई गति दिनुपर्छ, जसले स्थिर, पारदर्शी र उत्तरदायी शासन प्रणाली निर्माणमा मद्दत पुर्याउनेछ।

Ads

सम्बन्धित पोष्टहरू