Ads

उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र शाही


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुखको उम्मेदवारीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको व्यवहारमा असन्तोष व्यक्त गरेका छन्।

शाहीका अनुसार, रास्वपाले सुरुमा नै उपसभामुखको पदका लागि उम्मेदवारी प्रस्ताव गरेपछि आफूले उम्मेदवारी दिने निर्णय गरेका थिए। तर पछि रास्वपाले अर्को उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि उनी रिसाएका हुन्।

उपसभामुख पद प्राथमिकता नरहेको स्पष्ट पार्दै शाहीले भने, “तथापि संसद्को सबैभन्दा ठूलो दलबाट प्रस्ताव आएपछि, अन्य पुराना राजनीतिक दल र हामी परिवर्तन खोज्ने दल बीचको ध्रुवीकरणको सम्भावना मध्यनजर गर्दै उम्मेदवारी दिने निर्णयमा पुगेका थियौं।”

शाहीले पूराना राजनीतिक दलले आफूलाई बाइपास गर्दै छलफल अघि बढाएको र रास्वपाले सुरुमा दिएको समर्थन वचन पछि फिर्ता लिएर धोका दिएको बताए।

उनले थपे, “आजको हाम्रो उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता क्लियर गरेको छ। हिजो पुराना भनिएका दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्ड फरक भए पनि नीतिगत सिद्धान्त र विचार एउटै ठाउँमा जोडिएको प्रष्ट भएको छ। विदेशीको गोटी भइरहनेहरू र राष्ट्रवादी कित्ता क्लियर भएको छ।”

शाहीको यो टिप्पणीले उपसभामुखको उम्मेदवारीमा राजनीतिक दलबीचको साझेदारी, धोका र ध्रुवीकरणको वास्तविकता स्पष्ट देखाएको छ।

Ads

सम्बन्धित पोष्टहरू