राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक आह्वान गरेको छ। पार्टीका सभापति रवि लामिछाने ले दिउँसो साढे ३ बजे केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन्।
बैठकमा पार्टीको संगठनात्मक तथा संरचनागत विषयमा केन्द्रित विभिन्न एजेण्डामाथि छलफल हुने जनाइएको छ। प्रस्तावित कार्यसूचीअनुसार जिल्ला अधिवेशन कार्यविधि–२०८३, बैंक खाता सञ्चालन सम्बन्धी विषय, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनलगायतका विषय समेटिएका छन्।
त्यसैगरी, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषयलाई पनि महत्वपूर्ण एजेण्डाका रूपमा राखिएको छ। पार्टीले विज्ञहरू तथा परियोजना प्रस्तावका लागि आह्वान गर्ने विषयसमेत बैठकमा छलफल हुने बताइएको छ।
यसका अतिरिक्त, प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी निर्धारण, केन्द्रीय समिति बैठकको तयारी तथा संसदीय दलका लागि प्राविधिक सहयोग र लेवी सम्बन्धी विषयमा पनि बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्