पाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता र मोर्चाबन्दीको आवश्यकता औंल्याएका छन्।
नेकपाको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा जारी शुभकामना सन्देशमा उनले नेपाली क्रान्तिलाई अगाडि बढाउँदै सबैखाले विभेद अन्त्य गरी समतामूलक समाज निर्माणका लागि समाजवाद र साम्यवादको लक्ष्य बोकेका शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको बताएका छन्।
प्रचण्डले वर्तमान विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक बन्दै गएको उल्लेख गर्दै यस्तो परिस्थितिमा शान्ति सम्झौता तथा लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिहरूबीच समेत मोर्चाबन्दी अपरिहार्य रहेको बताएका छन्। उनले महान् लेनिनका शिक्षा र आदर्श अहिलेको सन्दर्भमा अझ सान्दर्भिक बनेको उल्लेख गरेका छन्।
शुभकामना सन्देशमा उनले कम्युनिष्ट आन्दोलनले इतिहासदेखि नै उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार तथा राष्ट्रिय स्वाधीनताको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको जिकिर गरेका छन्। साथै विगतका बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी अझ बढेको उनको भनाइ छ।
वि.सं. २००६ साल वैशाख ९ गते स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले ७७औँ स्थापना दिवस मनाइरहेका बेला प्रचण्डको यो सन्देशलाई वाम एकता र समकालीन राजनीतिक दिशाबारे महत्वपूर्ण धारणा रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्