Ads

प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सुरु भयो संवैधानिक परिषद्को बैठक


प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् आज बैठकमा भेला भएको छ। बैठकको मुख्य एजेन्डा ३३औँ प्रधानन्यायाधीशको सिफारिस गर्नु रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठकले प्रधानन्यायाधीशको रिक्त पदमा योग्य उम्मेदवारको सिफारिस तयार गर्नेछ।

गत चैत १८ गते प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहद पुरा गरी प्रधानन्यायाधीश पदबाट अवकाश भएपछि, बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल कायम मुकायम (का.मु.) प्रधानन्यायाधीश बनेकी छिन्।

न्याय परिषद्ले २६ फागुनमा भावी प्रधानन्यायाधीशका लागि वरिष्ठतम् न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिसका लागि पठाएको थियो।

बैठकमा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी उपस्थित छन्।

संवैधानिक व्यवस्था अनुसार, रिक्त प्रधानन्यायाधीशको सिफारिस बैठकमा कायम मुकायम प्रधानन्यायाधीशको सट्टा कानून मन्त्री परिषदको सदस्यको हैसियतमा उपस्थित हुनु पर्ने प्रावधान छ।

सरकारको दोस्रो पटकको सिफारिससँगै, राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए, जसले रिक्त संवैधानिक पदहरूमा नियुक्तिको बाटो खुलेको छ।

Ads

सम्बन्धित पोष्टहरू