Ads

‘डोजर होइन समाधान चाहिन्छ’ भन्दै सरकारविरुद्ध बुटवलमा प्रदर्शन


सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्थाबिनै वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीमा डोजर चलाएर राज्यले ‘डोजर आतंक’ मच्चाएको आरोप लगाउँदै देशभरका अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीहरूले आइतबार बुटवलमा प्रदर्शन गरेका छन्।

नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विभिन्न जिल्लाबाट हजारौँको सहभागिता रहेको संघर्ष समितिका रुपन्देही संयोजक खगेन्द्र पौडेलले जानकारी दिए।

प्रदर्शनकारीहरूले सरकारले वैकल्पिक बसोबासको व्यवस्था नगरी गरिब तथा भूमिहीन नागरिकमाथि जबर्जस्ती डोजर चलाएर उठिबास लगाउने काम गरेको आरोप लगाए। उनीहरूले राज्यले समस्या समाधानको बाटो खोज्नुपर्नेमा दमनकारी शैली अपनाएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘डोजर आतंक बन्द गर’, ‘अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर’, ‘गाँस, बासको व्यवस्था गर’, ‘जबर्जस्ती हटाउने अभियान बन्द गर’, ‘सुकुम्बासी हुनु रहर होइन, बाध्यता हो’, ‘गरिबलाई बाँच्न दे’, ‘डोजर होइन समाधान दे’, ‘गाँस–बास–कपासको सुनिश्चित गर’ तथा ‘बालेन सरकार राजीनामा दे’ लगायतका नारा लगाएका थिए।

संघर्ष समितिले सार्वजनिक जग्गा संरक्षणका नाममा गरिब तथा भूमिहीन नागरिकलाई विस्थापित गर्ने कार्य तत्काल रोक्न, वैकल्पिक व्यवस्थासहित स्थायी समाधान गर्न तथा सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट सरकारी नीति ल्याउन माग गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू