प्रधानमन्त्री बालेन्द्र शाह ले विश्वकै सर्वोच्च शिखर सगरमाथा को सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका आरोही कामीरिता शेर्पा र लाक्पा शेर्पा लाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत शुभकामना सन्देश जारी गर्दै कामीरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गरी आफ्नै विश्व कीर्तिमान पुनः नवीकरण गरेको उल्लेख गरेका छन् । उनले आइतबार बिहान १०ः१२ बजे सफल आरोहण गरेका हुन् ।
प्रधानमन्त्रीले सन्देशमा सगरमाथा नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक भएको उल्लेख गर्दै नेपाली आरोहीहरूले पुनः इतिहास रचेको बताएका छन् ।
त्यसैगरी ‘माउन्टेन क्विन’का रूपमा परिचित लाक्पा शेर्पाले पनि आइतबार बिहान ९ः३० बजे ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेकी छन् ।
प्रधानमन्त्री शाहले निरन्तरको अदम्य साहस, कठोर आत्मअनुशासन र कर्मप्रतिको इमान्दार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता सम्भव हुने उल्लेख गरेका छन् । उनले दुवै आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीका अनुसार नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम छ । हिमाललाई ईश्वरसरह मान्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्याउने शेर्पा समुदाय हिमालयका अदृश्य नायक भएको उनले बताएका छन् ।
उनले शेर्पा समुदायको साहस, ज्ञान र अथक श्रमबिनाको हिमाली गौरव अधुरो रहने उल्लेख गर्दै उनीहरूको योगदानप्रति राज्य र समाज सधैं सम्मानित रहनुपर्ने धारणा व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्