प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो सिफारिस योग्यता र क्षमताको आधारमा भएको दाबी गरेका छन् । प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको मापदण्ड मात्र निर्णायक नहुने उनको तर्क छ ।
संसदीय सुनुवाइ समितिमा मंगलबार उठेका प्रश्नको जवाफ दिँदै शर्माले प्रधानन्यायाधीश नियुक्तिलाई बढुवाको रूपमा नभई नियुक्तिको रूपमा हेर्नुपर्ने बताएका हुन् ।
उनले भने, “प्रधानन्यायाधीशको नियुक्तिलाई बढुवाको रूपमा नलिई नियुक्तिको रूपमा लिनुपर्छ । यसमा वरिष्ठताको मापदण्ड बलियो आधार हुन्छ जस्तो लाग्दैन । संवैधानिक परिषद्बाट प्रक्रिया पूरा गरेर निर्णय भएको विषयमा मैले बढी केही बोलिरहनुपर्छ जस्तो लागेको छैन ।”
शर्माले आफूविरुद्ध लागेको ‘नेपोबेबी’ आरोपको समेत बचाउ गरेका छन् । उनले आफ्नो न्यायिक यात्रा योग्यता र कार्यसम्पादनकै आधारमा अघि बढेको दाबी गरे ।
“नेपोबेबी भन्ने विषयलाई कसरी लिने मलाई थाहा छैन । योग्यता र क्षमताले एउटा अवधि पूरा गरेर पुनरावेदन अदालतमा न्यायाधीश नियुक्त भएको हुँ । त्यहाँ कार्यसम्पादन सम्पन्न गरेर संविधानले पद रिक्त गरेपछि पुनः कानून व्यवसायमा फर्किएँ । त्यसपछि पुनः नियुक्त भएर सर्वोच्च अदालत आएको हुँ,” उनले भने ।
उनले पारिवारिक सम्बन्धकै आधारमा कुनै व्यक्ति अयोग्य ठहरिन नसक्ने तर्क पनि गरे । “पारिवारिक नाता भएकै कारण कुनै पदमा नियुक्तिका लागि योग्य हुँदैन भन्ने कानूनी व्यवस्था वा न्यायिक मान्यता रहेको थाहा छैन,” शर्माको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्