Ads

अमेरिकाविरुद्ध नेपालको विशाल योगफल, इशान र दीपेन्द्रको अर्धशतक


आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले ३१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३१७ रन बनाएको हो ।

यो नेपालले त्रिवि क्रिकेट रंगशालामा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सबैभन्दा ठूलो योगफल हो । यसअघि नेपालले सन् २०२३ मा ओमानविरुद्ध ३१० रन बनाएको थियो । साथै, त्रिविमा बनेको यो दोस्रो ठूलो एकदिवसीय अन्तर्राष्ट्रिय योगफल पनि हो ।

नेपालका लागि इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गर्दै ८४ रनको अर्धशतकीय पारी खेले । उनले ८३ बलमा आठ चौका र एक छक्का प्रहार गरे । यो उनको लगातार दोस्रो अर्धशतक हो । यसअघि उनले स्कटल्यान्डविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए ।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ५९ रन बनाए । उनले चार चौका र चार छक्का प्रहार गरे । दीपेन्द्रले गुल्सन झासँग पाँचौँ विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए । कप्तान रोहित पौडेलले ४६ रन जोड्दा आशिफ शेखले ४३ रन बनाए । अर्का ओपनर कुशल भुर्तेलले २९ रन बनाउँदा आरिफ शेख १८ रनमा अविजित रहे । गुल्सन झाले १५ रनको योगदान दिए ।

अमेरिकाका शुभम रञ्जानेले तीन विकेट लिए भने रुसिल उग्राकार र मिलिन्द कुमारले समान एक–एक विकेट हात पारे ।

लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी त्रिकोणात्मक शृंखलाको यो अन्तिम खेल हो । नेपाल अमेरिकालाई लगातार दोस्रो पटक पराजित गर्दै शृंखला सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।

हाल नेपाल २७ खेलबाट १० जितसहित २२ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा रहेको छ । नेपालको दुई खेल भने रद्द भएका थिए । अमेरिका भने २७ खेलमा १९ जित र आठ हारसहित ३८ अंक जोडेर शीर्ष स्थानमा छ । समान अंक रहेको स्कटल्यान्डलाई रनरेटमा पछि पार्दै अमेरिका शीर्ष स्थानमा उक्लिएको हो ।

Ads

सम्बन्धित पोष्टहरू