Ads

‘सुन्दर देखिएकै आधारमा आलोचना भयो, यो पाखण्डपनको पराकाष्ठा’ : सृष्टि भट्टराई


सृष्टि भट्टराईले पछिल्ला दिनहरूमा आफूमाथि भइरहेका आलोचनाप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आफूलाई केवल सुन्दर देखिएकै आधारमा आलोचना गरिएको भन्दै त्यसलाई ‘पाखण्डपनको पराकाष्ठा’को संज्ञा दिएकी हुन्।

भट्टराईले अरू व्यक्तिहरू भ्रष्टाचारमा मुछिँदा मौन बस्नेहरू आफूलाई भने व्यक्तिगत रूपमा टिप्पणी गर्दै आलोचना गरिरहेको बताएकी छन्। उनले लेखेकी छन्, “मलाई पछिल्ला दिनहरूमा आएका आलोचनाहरू सुन्दा अनौठो लाग्ने गरेको छ। अरू भ्रष्ट हुँदा केही बोल्न नसक्ने व्यक्तिले मलाई भने केवल सुन्दर देखिएकै आधारमा आलोचना गरिरहेको छ। पाखण्डपनको पराकाष्ठा।”

उनले आलोचनाबाट निराश हुने कि आफ्नो सुन्दरताले धेरैको ध्यान तानेकोमा खुसी हुने भन्ने व्यंग्यात्मक प्रश्नसमेत गरेकी छन्।

साथै, अहिले आफू संसदमा पुगे पनि पहिले प्रश्न गर्ने ठाउँबाटै आएको स्मरण गराउँदै उनले आलोचकहरूलाई सोच र दृष्टिकोण फराकिलो बनाउन आग्रह गरेकी छन्। भोलिका दिनमा अन्य नागरिक पनि नेतृत्व तहमा पुग्न सक्ने उल्लेख गर्दै उनले सबैलाई जिम्मेवार र सकारात्मक ढंगले बहस गर्न अनुरोध गरेकी हुन्।

देशमा पछिल्ला वर्षहरूमा देखिएको राजनीतिक अवस्था र बेथितिका कारण नै नयाँ पुस्ता राजनीतिमा आएको उनको भनाइ छ। युवा पुस्ता चुप लागेर बस्ने खालको नभएको उल्लेख गर्दै उनले धेरै बोलिरहने प्रवृत्तिमा पनि आफूहरू विश्वास नगर्ने बताएकी छन्।

Ads

सम्बन्धित पोष्टहरू