Ads

“सगरमाथा विजय गर्ने चिज होइन, यो त एउटा पावन अनुभूति हो” : पर्यटनमन्त्री पौडेल


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ ले सगरमाथा केवल विजय गर्ने शिखर नभई मानव सभ्यताको आध्यात्मिक अनुभूति र साहसको प्रतीक भएको बताएका छन्।

‘सगरमाथा पहिचान र गौरव’ भन्ने मूल नाराका साथ आयोजित ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा बोल्दै मन्त्री पौडेलले हिमाल संरक्षणलाई विश्वव्यापी दायित्वका रूपमा लिनुपर्नेमा जोड दिए।

“सगरमाथा विजयी हुने चिज होइन, यो त एउटा पावन अनुभूति हो। सम्भवतः सबैको भाग्यमा त्यो अनुभूति लेखिएको हुँदैन,” मन्त्री पौडेलले भने, “हिमाल हाम्रो मात्र होइन, संसारकै साझा सम्पत्ति हो। हिमालको सुरक्षा नगरेसम्म हामी सुरक्षित रहन सक्दैनौं।”
विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालको हिउँ तीव्र गतिमा पग्लिरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले यसको असर पृथ्वीका तटीय क्षेत्रदेखि मानव जीवनसम्म पर्ने चेतावनी दिए। सगरमाथा र अन्य हिमालहरू जोखिममा परेको उल्लेख गर्दै उनले भने, “हिमालको उचाइभन्दा अझ माथि अब मानवताको चेतना हुनुपर्छ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा पर्यटन विभागको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जेन शेर्पा र पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने लगायतले हिमाली क्षेत्रको संरक्षण र पर्यटकीय सुशासनका विषयमा आफ्ना धारणा राखेका थिए।

Ads

सम्बन्धित पोष्टहरू