आर्थिक वर्षको नयाँ बजेट आज (जेठ १५ गते) सार्वजनिक हुँदैछ ।
अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
बजेट घोषणा गर्नुअघि बजेटलाई अन्तिम रूप दिन र औपचारिकता प्रदान गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो साढे २ बजे क्याबिनेट बैठक बस्ने तय भएको हो । मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेपछि मात्रै अर्थमन्त्रीले त्यसलाई संसद्मा पेस गर्ने कानुनी व्यवस्था छ ।
संवैधानिक प्रावधान अनुसार हरेक वर्ष जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको वार्षिक आयव्ययको अनुमानित विवरण (बजेट) संसद्मा पेस गर्नुपर्ने हुन्छ । यस पटकको बजेटमा आर्थिक सुधार, उत्पादन वृद्धि, र दिगो विकासका योजनाहरूलाई प्राथमिकतामा राखिएको स्रोतले जनाएको छ ।
संसद्को संयुक्त बैठकमा हुने बजेट भाषणको प्रत्यक्ष प्रसारण विभिन्न सञ्चार माध्यमहरूबाट गरिने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्