साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ। मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले भेट्रान फरवार्ड तथा कप्तान लियोनेल मेस्सीको नेतृत्वमा २६ सदस्यीय बलियो टोलीको घोषणा गरेका हुन्।
आगामी जुन महिनादेखि अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन गइरहेको विश्वकपमा अर्जेन्टिना आफ्नो उपाधि रक्षा गर्ने दाउका साथ मैदान उत्रिनेछ। ३८ वर्षीय कप्तान मेस्सीका लागि यो कीर्तिमानी छैटौँ विश्वकप हुनेछ, जसका कारण यस पटक पनि टोलीको मुख्य जिम्मेवारी र आशा मेस्सीकै काँधमा रहने प्रष्ट देखिएको छ।
मुख्य प्रशिक्षक स्कालोनीले अनुभवी र युवा खेलाडीहरूलाई समेट्दै सन्तुलित टोली तयार पारेका छन्। टोलीमा सन् २०२२ को कतार विश्वकपमा गोल्डेन ग्लोभ जितेका स्टार गोलकिपर एमिलियानो मार्टिनेज, भरपर्दा डिफेन्डर क्रिस्टियन रोमेरो, मिडफिल्डर रोड्रिगो डे पउल र इटालियन क्लब इन्टर मिलानबाट उत्कृष्ट लयमा रहेका फरवार्ड लाउटारो मार्टिनेज जस्ता स्थापित स्टारहरू सुरक्षित छन्।
यसका साथै टोलीमा निको पाज, भ्यालेन्टिन बार्को र जिउलियानो सिमिओनी जस्ता युवा तथा उदाउँदा प्रतिभाहरूलाई पनि समावेश गर्दै विश्वकप जस्तो ठूलो मञ्चमा अवसर दिइएको छ।
विश्वकप २०२६ को समूह ‘जे’ (Group J) मा रहेको अर्जेन्टिनाले जुन १६ मा अल्जेरियाविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्राको सुरुवात गर्नेछ।
गोलकिपर: एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली, जुआन मुसो।
डिफेन्डर: लियोनार्डो बालेर्डी, निकोलस टागलियाफिको, गोन्जालो मोन्टिएल, लिसान्ड्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, फाकुन्डो मेडिना, नाहुएल मोलिना।
मिडफिल्डर: लियान्द्रो पारेडेस, रोड्रिगो डे पउल, भ्यालेन्टिन बार्को, जिओभानी लो सेल्सो, एजेक्वेल पालासिओस, एलेक्सिस म्याक एलिस्टार, एन्जो फर्नान्डेज।
फरवार्ड: लियोनेल मेस्सी (कप्तान), जुलियन अल्भारेज, लाउटारो मार्टिनेज, निको गोन्जालेज, थियागो अल्माडा, जिउलियानो सिमिओनी, निको पाज, जोसे म्यानुएल लोपेज।
प्रतिक्रिया दिनुहोस्