उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच औपचारिक रूपमा पार्टी एकीकरण गर्ने सहमति भएको छ। शुक्रबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच दुवै पार्टीले एकताको घोषणा गरेका हुन्।
एकता सहमतिपत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्मबहादुर चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गर्नुभएको छ।
विगत केही समयदेखि चलिरहेको छलफल र संवाद सकारात्मक निष्कर्षमा पुगेपछि दुवै पार्टी एकीकृत भई अघि बढ्न सहमत भएका हुन्। पार्टी एकताका लागि दुवै पक्षबीच सात बुँदे सहमति भएको जनाइएको छ।
सहमतिपत्र अनुसार दुवै पक्षले पूर्ण एकता कायम गर्दै आफ्ना नेता तथा कार्यकर्ताहरूको उचित कार्यविभाजन र व्यवस्थापन प्रक्रियालाई छिटोभन्दा छिटो अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्। वैकल्पिक र नयाँ राजनीतिक शक्तिको जग बलियो बनाउन यो एकताले महत्त्वपूर्ण भूमिका खेल्ने दुवै पार्टीका नेताहरूले दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्