Ads

रास्वपा जस्ता शक्तिहरू चाँडै ‘कोल्याप्स’ हुन्छन्, देश हामीले नै सम्हाल्ने हो: वर्षमान पुन


नेकपाका नेता वर्षमान पुन ले सामाजिक सञ्जालको प्रभावबाट उदाएका राजनीतिक शक्तिहरूको आयु लामो नहुने दाबी गरेका छन्। पार्टी निकट अखिल नेपाल महिला सङ्गठनको भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नयाँ राजनीतिक शक्तिहरू चाँडै कमजोर हुने र अन्ततः स्थापित दलहरूले नै मुलुकको नेतृत्व सम्हाल्ने बताएका हुन्।

प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाभन्दा बढी सिट जितेको रास्वपातर्फ संकेत गर्दै पुनले वैचारिक तथा साङ्गठनिक आधारबिनाका शक्तिहरू दीर्घकालीन रूपमा टिक्न नसक्ने टिप्पणी गरे। सामाजिक सञ्जालको प्रभावमा परेर जनताले मत दिए पनि अहिले आएर धेरै मतदाताले आफ्नो निर्णयप्रति पछुतो व्यक्त गर्न थालेको उनको दाबी थियो।

“सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ, देश हामीले नै सम्हाल्ने हो,” भन्दै उनले भर्चुअल दुनियाँको प्रभावबाट तीव्र रूपमा माथि उठेका शक्तिहरू त्यत्तिकै छिटो ओरालो लाग्ने बताए।

पुनले विचार, आन्दोलन, त्याग र बलिदानको जगमा निर्माण भएका राजनीतिक शक्तिहरू मात्र स्थायी हुने तर्क गरे। उनले मधेसमा सिके राउत नेतृत्वको राजनीतिक शक्तिको उदाहरण दिँदै एक समय ठूलो प्रभाव देखिए पनि अहिले त्यो कमजोर बन्दै गएको उल्लेख गरे।

आगामी स्थानीय तह निर्वाचनसम्म पुग्दा अहिलेका नयाँ भनिएका शक्तिहरू हराउँदै जाने र फेरि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादीजस्ता स्थापित दलहरू नै अग्रपङ्क्तिमा आउने उनको भनाइ थियो।

सुकुम्वासी बस्तीदेखि मधेसका ग्रामीण क्षेत्रसम्मका मतदाताले नयाँ शक्तिलाई परीक्षण गरे पनि उनीहरूबाट अपेक्षित परिवर्तन सम्भव नभएको बुझ्न थालेको पुनको दाबी छ। उनले नयाँ शक्तिका नेताहरूको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै छोटो अवधिमै मन्त्रीहरू बर्खास्त हुनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरे।

साथै, उनले प्रविधिको प्रयोगलाई आत्मसात् गर्दै पार्टी र मातहतका सङ्गठनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। सामाजिक सञ्जालमा देखिने आक्रामक र ध्वंसात्मक शैलीले लोकतन्त्रलाई बलियो नबनाउने भन्दै कार्यकर्ताहरूलाई जनताको घरदैलोमा पुगेर वास्तविक मुद्दामा केन्द्रित हुन आग्रह गरे।

मुलुकको राजनीतिक स्थिरता र समृद्धिका लागि स्थापित दलहरूले नै नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउँदै पुनले चुनौतीपूर्ण परिस्थितिका बाबजुद आफ्ना एजेन्डा र संगठनको शक्तिका आधारमा देशले निकास पाउने विश्वास व्यक्त गरे।

Ads

सम्बन्धित पोष्टहरू