अर्थ मन्त्री डा. स्वर्णिम वाग्ले ले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट आकारका हिसाबले ठूलो देखिए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा भने सानो रहेको बताएका छन्।
अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चालु आर्थिक वर्षका लागि प्रक्षेपित जीडीपी करिब ७४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको उल्लेख गर्दै प्रस्तुत बजेट त्यसको जम्मा २८.५ प्रतिशत मात्र रहेको बताए।
उनका अनुसार विगतमा बजेटको आकार जीडीपीको ३० प्रतिशतभन्दा माथि पुग्ने प्रवृत्ति रहे पनि यसपटक सरकारले त्यो अभ्यासलाई तोड्दै राज्यको स्रोत, क्षमता र कार्यान्वयन सामर्थ्यअनुसार बजेटको आकार निर्धारण गरेको हो।
अर्थमन्त्री वाग्लेले बजेट बनाउँदा राजस्वको अवस्था, उपलब्ध स्रोत तथा कार्यान्वयन क्षमतालाई विशेष ध्यान दिइएको बताए। उनले जीडीपीको प्रक्षेपण आगामी दिनमा केही तलमाथि हुन सक्ने उल्लेख गर्दै त्यसबारे मध्यावधि समीक्षामा थप मूल्याङ्कन गरिने जानकारी दिए।
“प्रक्षेपित जीडीपीको सापेक्षतामा जम्मा २८.५ प्रतिशतको बजेट आएको छ। हाम्रो प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्ब रुपैयाँ छ। अब त्यो अलिकति तलमाथि हुन सक्छ, त्यो पछिको कुरा भयो। मध्यावधि संशोधनमा हामी ती कुराहरू हेर्नेछौं,” उनले भने।
उनले विगतको ३० प्रतिशतभन्दा माथिको बजेट आकारको प्रवृत्तिलाई अन्त्य गर्दै राज्यको क्षमता अनुकूल २५ देखि ३० प्रतिशतको दायराभित्र बजेट राखिएको दाबी गरे। “त्यसैले बजेट ठूलो होइन, जीडीपीको सापेक्षतामा सानै बजेट आएको छ,” उनले स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस्