प्रतिनिधिसभामा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्न समिति गठन गरिएको छ।
सभामुख डोलप्रसाद अर्याल ले सोमबार संसद् बैठकमा जानकारी दिँदै सात दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समिति गठन गरिएको बताएका हुन्।
उनका अनुसार प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी को संयोजकत्वमा गठित समितिमा संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख तथा प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन्।
सभामुख अर्यालले प्रतिनिधिसभाको जेठ १७ गतेको बैठकमा केही सांसदहरूले अव्यवस्था सिर्जना गर्दै अमर्यादित तथा आपत्तिजनक व्यवहार प्रदर्शन गरेको, साथै भौतिक क्षति पुर्याउने गतिविधिसमेत भएको जानकारी आफूलाई प्राप्त भएको बताए। सो घटनाका सम्बन्धमा मुचुल्कासमेत तयार भइसकेकाले आवश्यक जाँचबुझ गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन गरिएको उनको भनाइ छ।
प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने सभामुखले जानकारी दिए।
यसअघि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले नियमावली पारित गर्ने प्रक्रियाको विरोध गर्दै सदनको वेल घेराउ गरेका थिए। त्यसक्रममा नाराबाजी, धकेलाधकेल तथा सांसदहरूबीच घम्साघम्सीसमेत भएको थियो।
प्रतिनिधिसभा नियमावली, २०८३ पारित गर्ने क्रममा विपक्षी दलहरूले नियमावलीमाथि दर्ता भएका संशोधन प्रस्तावहरू थप छलफलका लागि संसदीय समितिमा पठाउन माग गरेका थिए। तर दफावार छलफल सम्पन्न भइसकेको र प्रक्रिया अगाडि बढिसकेको भन्दै सभामुखले संशोधनहरूलाई विरोधकै बीच पास र फेलको प्रक्रियामा अघि बढाएका थिए।
प्रतिक्रिया दिनुहोस्