Ads

प्रधानमन्त्रीको भनाइबारे सरकारका प्रवक्ता : हाम्रो सीमा मिचियो भनेर भारतले खबर पठाएको छ


सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले दिएको अभिव्यक्तिको बचाउ गरेका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको भनाइलाई सन्दर्भअनुसार बुझ्न आग्रह गरे।

पोखरेलका अनुसार प्रधानमन्त्रीले ‘नेपालले भारतको भूभाग कब्जा गरेको खबर दिल्लीबाट आएको सुनेर अचम्मित भएको’ मात्र बताएका हुन्। उनले यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक धारणा सार्वजनिक गरिसकेको पनि बताए।

उनले नेपाल–भारत सीमा विवाद समाधानका लागि विगतदेखि नै संयन्त्र र समितिहरू सक्रिय रहेको उल्लेख गर्दै दुवै देशबीच कूटनीतिक संवाद जारी रहेको जानकारी दिए। “भूमिसम्बन्धी सीमा विवाद मिलाउन पुरानै समितिहरू छन्। प्रधानमन्त्रीले पनि यही विषय उठाउनुभएको हो,” उनले भने।

मन्त्री पोखरेलले सीमा विवादबारे नेपाल र भारत दुवैले एकअर्कालाई कूटनीतिक नोट आदानप्रदान गरिसकेको बताए। उनका अनुसार प्रधानमन्त्रीले भारतबाट आएको सूचनाको सन्दर्भ उल्लेख गर्दै आफू अचम्मित भएको बताएका हुन्।

क्रस–बोर्डर अतिक्रमण तथा भूमि उपभोगको विषयमा बोल्दै उनले सीमावर्ती क्षेत्रमा दुवै देशले प्रयोग गरिरहेका केही भूभागबारे विवाद हुन सक्ने बताए। भारतले नेपाललाई कुन–कुन स्थानबारे जानकारी गराएको हो भन्ने विषय भने उनले खुलाएनन्।

पोखरेलले प्रधानमन्त्री संसदप्रति उत्तरदायी भएकाले आवश्यक विषयमा सदनमा धारणा राख्नु स्वाभाविक भएको उल्लेख गरे। साथै, सीमा सम्बन्धी सबै विवाद कूटनीतिक तथा संवादमार्फत समाधान गर्नुपर्नेमा सरकार स्पष्ट रहेको बताउँदै यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक पहल गरिरहेको जानकारी दिए।

Ads

सम्बन्धित पोष्टहरू