नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली ले नेपालले भारतको एक इन्च भूमि पनि नमिचेको भन्दै प्रधानमन्त्रीको संसदमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।
बुधबार पार्टीको केन्द्रीय संगठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले संसदको रोस्ट्रमबाट राष्ट्रहितविपरीत र असत्य कुरा बोलिएको आरोप लगाए।
‘एक ठाउँमा एक इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन,’ ओलीले भने, ‘सम्पूर्ण रूपमा असत्य, झुट र राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट बोल्नु हुँदैन थियो। तर बोल्ने काम भयो। कसको हितका लागि ? कसको पक्षमा ? नेपालको अहितमा, नेपालको विपक्षमा यत्रो देशद्रोही कुरा किन र केका लागि बोलियो ?’
ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र मुलुकको हितमाथि प्रश्न उठाएको दाबी गर्दै सरकारबाट आएको यस्तो भनाइ स्वीकार्य हुन नसक्ने बताए। उनले सीमा र राष्ट्रिय हितसँग जोडिएका विषयमा जिम्मेवार पदमा रहेका व्यक्तिहरूले तथ्यमा आधारित र राष्ट्रहितअनुकूल अभिव्यक्ति दिनुपर्ने धारणा समेत राखे।
प्रधानमन्त्रीको संसदमा भएको उक्त अभिव्यक्तिलाई लिएर पछिल्ला दिनहरूमा राजनीतिक वृत्तमा बहस चर्किएको छ। एमालेले यस विषयलाई राष्ट्रिय हितसँग जोडेर सरकारको आलोचना गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्