Ads

राष्ट्रपति कार्यालयबाट हात्तीका दाह्रा चोर्ने पाँच सार्वजनिक


राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर-९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका-४ लाप्राक घर भई मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका-१७ का २७ वर्षीय आयुष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका-३ घर भई टोखा-२ सपनतिर्थ बस्ने २४ वर्षीय पुरन बोहरा तथा गोरखाको अजिरकोट गाउँपालिका-४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल रहेका छन्।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी शरद थापाका अनुसार मनमैजु क्षेत्रमा हात्तीका दाह्रा बिक्री-वितरणको तयारी भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अनुसन्धानका क्रममा राजिव, आयुष र टेकले हात्तीका दाह्रा टुक्रा बनाएर राजिवको घर नजिकैको खाली जग्गामा गाडेर राखेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले राजिवको घरबाट हात्तीका दाह्राका दुई टुक्रा तथा लागुऔषध ट्रामाडोलका १५० ट्याब्लेट समेत बरामद गरेको छ।

सोधपुछका क्रममा टोखा-२ सपनतिर्थ बस्ने पुरन बोहराको संलग्नता खुलेपछि उनलाई पनि पक्राउ गरिएको थियो। पुरनले हात्तीका दाह्राका दुई टुक्रा सन्तबहादुर भुजेलले आफ्नो कोठाको झ्यालमा राखेको जानकारी दिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार बरामद भएका दाह्रा राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएका हुन्। जेनजी आन्दोलनका क्रममा शीतल निवासबाट चोरी भएका ती दाह्रा करिब नौ महिनापछि फेला परेका हुन्।

Ads

सम्बन्धित पोष्टहरू