टिकटककर तुलसा अधिकारीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी होबिन्द्र बोगटीका अनुसार उनलाई नख्खु कारागार पठाइनेछ।
कुमार चिमोरियाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा अधिकारीसहित अशोककुमार अग्रवाललगायत १० जना प्रतिवादी छन्। उनीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ।
जाहेरीकर्ता चिमोरियाले २०८२ साउन २४ गते अधिकारीसहितका व्यक्तिहरूले ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोप लगाएका थिए। अनुसन्धानका क्रममा अधिकारीको करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दासमेत चलाइएको छ।
२०८२ भदौ महिनादेखि फरार रहेकी अधिकारी चीन हुँदै थाइल्यान्ड पुगेकी थिइन्। उनलाई गत शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको थियो।
प्रतिक्रिया दिनुहोस्