Ads

कुशलको ऐतिहासिक शतक, मलेसियामाथि नेपालको १६७ रनको विशाल जीत


एसियन खेलकुदका लागि यसअघि नै छनोट भइसकेको नेपालले प्रतियोगिताको दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको छ।

लगातार दोस्रो जित दर्ता गर्ने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले शानदार शतकीय इनिङ्स खेले। उनले ५४ बलमा १४ चौका र ८ छक्काको मद्दतमा १२६ रन बनाउँदै लगातार दुई टी–२० अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्न सफल भए।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको विशाल योगफल तयार गरेको थियो। भुर्तेल र आरिफ शेखबीच पहिलो विकेटका लागि १३४ रनको उत्कृष्ट साझेदारी भएको थियो।

आरिफले २४ बलमा ५ चौका र ७ छक्कासहित ६८ रनको आक्रामक इनिङ्स खेले। यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरीले ३१ रन, सन्दीप जोराले १५ रन तथा लोकेश बमले १० रनको योगदान दिए।

नेपालले दिएको २७६ रनको कठिन लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०८ रनमा सीमित भयो। मलेसियाका लागि कप्तान साइद अजिजले सर्वाधिक ५४ रन बनाए। सर्भिन मुनिएन्डीले १८ तथा ओपनर मुहम्मद हाजिकले १३ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको बलिङतर्फ शेर मल्लले सर्वाधिक ३ विकेट लिए। करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले समान १–१ विकेट हात पारे।

यो जितसँगै नेपालले प्रतियोगितामा आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ।

Ads

सम्बन्धित पोष्टहरू