महानायक राजेश हमालले नेपालको सीमासम्बन्धी बहसमा प्रायः प्रयोग हुने ‘सीमापार अतिक्रमण’ र ‘राज्य-प्रायोजित भू-अतिक्रमण’ फरक प्रकृतिका विषय भएको बताउनुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले सीमासम्बन्धी सबै विवादलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने उल्लेख गर्नुभएको हो।
हमालले नेपाल र भारतबीचको खुला सीमाका कारण दुई देशका नागरिकबीच शताब्दीयौंदेखि सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्ध रहँदै आएको स्मरण गर्नुभएको छ। उहाँका अनुसार नदीको धार परिवर्तन हुनु, सीमा स्तम्भ हराउनु वा क्षतिग्रस्त हुनु, तथा बस्ती विस्तार एवं खेतीपातीका कारण देखिने विवादहरू प्रायः स्थानीय र प्रशासनिक प्रकृतिका हुन्छन्। यस्ता प्राविधिक समस्याहरूको समाधान आपसी संवाद, संयुक्त सर्वेक्षण र दुई देशबीचको सहकार्यबाट सम्भव हुने उहाँको तर्क छ।
तर, ‘राज्य-प्रायोजित भू-अतिक्रमण’ भने पूर्ण रूपमा फरक र गम्भीर विषय भएको हमालले स्पष्ट पार्नुभएको छ। कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न सक्रिय हुँदा त्यहाँ सडक निर्माण, प्रशासनिक संरचना स्थापना, सुरक्षा निकाय परिचालन तथा सरकारी अधिकार लागू गर्ने जस्ता गतिविधि सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभएको छ। यस सन्दर्भमा हमालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई राज्य-प्रायोजित भू-अतिक्रमणको प्रमुख उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ।
वर्तमान विश्व राजनीतिक अवस्था अस्थिर र अनिश्चित बन्दै गएको तर्फ संकेत गर्दै अभिनेता हमालले यस्तो परिस्थितिमा राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि हुन आवश्यक रहेको औंल्याउनुभएको छ। नेतृत्वमा यस्ता गुणहरूको अभाव भए राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ।
राष्ट्रिय सार्वभौमिकता, सीमा विवाद र नेतृत्व क्षमताका विषयमा बहस चलिरहेका बेला आएको हमालको यो पछिल्लो अभिव्यक्तिलाई स्थानीय स्तरका समस्या र राज्यस्तरबाट हुने रणनीतिक गतिविधिबीचको स्पष्ट भिन्नता छुट्याउनुपर्ने एक परिपक्व दृष्टिकोणका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्