काठमाडौँ, । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन् । युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरुक र संवेदनशील बनाउने महत्त्वपूर्ण माध्यम पनि भएको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले भने, “यसले हाम्रो समाज, जनजीवन, लोकतान्त्रिक मूल्य मान्यता, रूपान्तरण, परिवर्तन, देशप्रेम र सामाजिक न्यायका लागि उत्प्रेरित गर्दै सभ्य र सुसंस्कृत समाजमा महत्त्वपूर्ण योगदान दिएको हुन्छ । साथै, साहित्यले समाजलाई जोड्ने, जागरुक बनाउने र उज्यालो भविष्यतर्फ अघि बढाउने सार्मथ्य राख्दछ भन्ने मलाई लाग्दछ ।”
उहाँले नेपाली भाषा, साहित्य, जनचेतना र राष्ट्रिय भावनाको विकासमा युगकवि सिद्धिचरण श्रेष्ठले पुर्याएको योगदानको स्मरण गर्दै भने, “आजको नयाँ पुस्ताले युगकवि सिद्धिचरण श्रेष्ठलाई केवल इतिहासका एक कविका रूपमा मात्र होइन, चेतना, साहस, सिर्जनशीलता, राष्ट्रप्रेम र मानवीय मूल्यका प्रेरणास्रोतका रूपमा बुझ्न आवश्यक छ । नेपाली साहित्यको श्रीवृद्धिमा उनको योगदान महत्त्वपूर्ण छ ।”
उनी आफ्नो समयको चेतना, समाजको संवेदना र परिवर्तनप्रतिको आकांक्षालाई शब्दमार्फत अभिव्यक्त गर्ने विशिष्ट साहित्यिक व्यक्तित्व रहेको राष्ट्रपति पौडेलको भनाइ छ । उनले तत्कालीन कठिन सामाजिक तथा राजनीतिक परिस्थितिमा पनि युगकवि श्रेष्ठले साहित्यका माध्यमबाट स्वतन्त्रता, न्याय, मानवता, राष्ट्रिय स्वाभिमान र जनचेतनाको सन्देश प्रवाह गरेको बताए । उनले भने, “चेतनापूर्ण साहित्यिक अभिव्यक्ति र निर्भीक विचारका कारण लामो समयसम्मको कष्टकर कारावासको सजाय भोग्दाका बखत पिताको काजक्रियामा सहभागी हुन नपाएको पीडादायी प्रसङ्गबाट उनको जीवनको सङ्घर्ष, त्याग र साहित्यप्रतिको निष्ठा बुझ्न सकिन्छ ।”
राष्ट्रपति पौडेलले जन्मभूमिप्रतिको गहिरो माया, राष्ट्रप्रतिको आस्था र नेपाली जनजीवनप्रतिको संवेदनशीलता प्रचुर मात्रामा पाइने युगकवि सिद्धिचरण श्रेष्ठका कवितामध्ये उनको रचना ‘मेरो प्यारो ओखलढुङ्गा’ ले जन्मभूमिप्रतिको अगाध प्रेमलाई नेपाली साहित्यमा अविस्मरणीय रूपमा स्थापित गरेको उल्लेख गरे । कार्यक्रममा डा दुबसु क्षेत्री र डा गार्गी शर्मालाई युगकवि सिद्धिचरण पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्