परराष्ट्रमन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। खनालनिकट स्रोतका अनुसार उनी यही जेठ ३१ गते चीन प्रस्थान गर्ने तयारीमा छन्।
भ्रमणका क्रममा उनले असार १ र २ गते वाङ यी तथा लिउ हाइसिङ सँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यसूची रहेको बताइएको छ।
भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, व्यापार विस्तार, विकास साझेदारी तथा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने स्रोतले जनाएको छ। साथै दुई देशबीचको आर्थिक सहकार्यलाई थप मजबुत बनाउने विषयमा पनि कुराकानी हुने अपेक्षा गरिएको छ।
परराष्ट्रमन्त्री खनाल हालै भारतको औपचारिक भ्रमण सम्पन्न गरेर फर्किएका हुन्। उनी गत शुक्रबार भारत गएका थिए भने आइतबार स्वदेश फर्किएका थिए। भारत भ्रमणको केही दिनमै उनको चीन भ्रमण हुन लागेको हो।
यता वालेन्द्र शाह ले समेत असार महिनामा भारत भ्रमण गर्ने तयारी गरिरहेका छन्। त्यसपछि उनको चीन भ्रमणको सम्भावना पनि रहेको स्रोतको दाबी छ।
परराष्ट्रमन्त्री खनालको भ्रमण जेठ ३१ गतेदेखि सुरु भई असार ३ गते सम्पन्न हुने कार्यसूची तय गरिएको छ। नेपालका उच्च राजनीतिक नेतृत्वको भारत र चीनसँगको कूटनीतिक सक्रियता बढिरहेका बेला खनालको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्