Ads

फेरि गृह मन्त्रालय फर्किए सुधन गुरुङ, महावीर पुनले पाए नयाँ मन्त्रालयको जिम्मेवारी !


राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त दुई मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार आयोजित एक विशेष समारोहबीच राष्ट्रपति पौडेलले नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई पदको शपथ खुवाउनुभएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार नै उनीहरूलाई मन्त्री पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिस लगत्तै शीतलनिवासमा शपथग्रहणको तयारी गरिएको थियो ।

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ यसअघि पनि गृह मन्त्रालयकै जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँले राजीनामा दिएपछि केही समय गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाह आफैँले सम्हाल्दै आउनुभएको थियो । गुरुङ गोरखाबाट निर्वाचित सासंद हुनुहुन्छ ।

त्यस्तै, म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले सम्हाल्ने विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय भने सरकारले भर्खरै नयाँ गठन गरेको हो । देशमा प्रविधि र अनुसन्धानको क्षेत्रलाई प्राथमिकता दिने उद्देश्यले यो मन्त्रालय स्थापना गरिएको बुझिएको छ ।

नयाँ मन्त्रीहरूको नियुक्ति र शपथग्रहणसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने दिशामा अघि बढेको छ ।

Ads

सम्बन्धित पोष्टहरू