Ads

‘अब प्रधानमन्त्रीलाई खोज्दैनौँ, जनतासँग माफी माग्नुपर्छ’ : कांग्रेस नेता आङदेम्बे


नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को विवादास्पद अभिव्यक्तिलाई लिएर अब संसदमा उनलाई नखोज्ने जनाएको छ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएको विषयमा कांग्रेसले संयमता अपनाएको बताएका हुन्।

उनले उक्त अभिव्यक्तिका कारण प्रधानमन्त्रीलाई कडा रूपमा घेराबन्दी गर्ने उपयुक्त अवसर भए पनि कांग्रेसले जिम्मेवार व्यवहार प्रदर्शन गरेको दाबी गरे।

‘प्रधानमन्त्रीलाई पेल्ने उपयुक्त समय थियो, तर हामी सम्हालियौँ,’ आङदेम्बेले भने।

उनले प्रधानमन्त्रीले संसदमा मात्र होइन, देश र जनतासँग समेत माफी माग्नुपर्ने धारणा राखे। प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावना र संवेदनशील सीमासम्बन्धी विषयमा अनावश्यक विवाद सिर्जना गरेको कांग्रेसको ठहर रहेको उनले बताए।

आङदेम्बेले सरकारलाई राष्ट्रिय हितका विषयमा थप जिम्मेवार र स्पष्ट हुन आग्रह गर्दै यस्ता विषयमा हल्का टिप्पणी नगर्न चेतावनीसमेत दिए।

Ads

सम्बन्धित पोष्टहरू