अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्य र निजीक्षेत्रबीचको सहकार्यबाट मात्रै अर्थतन्त्रको वास्तविक विकास सम्भव हुने भन्दै आगामी आर्थिक वर्षको बजेट सोही अवधारणामा आधारित रहेको बताएका छन्।
प्रतिनिधिसभामा बजेटका राजस्व तथा व्ययमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले बजेटले उत्पादन, रोजगारी सिर्जना र निजीक्षेत्रमैत्री नीतिलाई प्राथमिकता दिएको स्पष्ट पारे। नेपालकाे अर्थतन्त्र पछिल्ला केही वर्षदेखि चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले आर्थिक गतिविधि पुनर्जीवित गर्न निजीक्षेत्रको क्रयशक्ति र आत्मविश्वास बढाउनुपर्ने आवश्यकता औंल्याए।
“अर्थतन्त्रलाई चलायमान बनाउन मागको पुनरुत्थान आवश्यक छ। त्यसका लागि निजीक्षेत्रको आत्मबल बढ्नुपर्छ। बजेटले यही आवश्यकता सम्बोधन गर्ने प्रयास गरेको छ,” वाग्लेले भने।
उनले वर्तमान आर्थिक समस्याको दीर्घकालीन समाधान खोज्दै आर्थिक गतिशीलता बढाउने उद्देश्यले सरकारले निजीक्षेत्रलाई प्राथमिकतामा राखेको दाबी गरे। सामाजिक न्याय र समतामूलक विकासप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले राज्य र निजीक्षेत्रप्रतिको पुरानो सोच परिवर्तन भएको बताए।
“राज्यले सबै काम आफैं गर्ने र निजीक्षेत्रलाई सन्देहको दृष्टिले हेर्ने पुरानो सोचबाट हामी बाहिर निस्किएका छौं। साथै, बजारले मात्रै सबै समस्या समाधान गर्छ भन्ने अतिवादी धारणा पनि हाम्रो होइन,” उनले स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेका अनुसार सरकारको आर्थिक दृष्टिकोण सक्षम राज्य र गतिशील निजीक्षेत्रबीचको साझेदारीमा आधारित छ, जसले उत्पादन वृद्धि, रोजगारी विस्तार र दिगो आर्थिक विकासलाई टेवा पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्