Ads

३० वर्षपछिको ऐतिहासिक जित: विश्वकपमा स्कटल्यान्डको सुखद सुरुआत


लामो प्रतिक्षापछि विश्वकप फुटबलमा फर्किएको स्कटल्यान्डले आफ्नो पहिलो खेलमै सुखद सुरुआत गरेको छ।

समूह ‘सी’ अन्तर्गत बोस्टन नजिकैको गिलेट स्टेडियममा सम्पन्न खेलमा स्कटल्यान्डले हाइटीलाई १–० गोल अन्तरले पराजित गरेको हो।

सन् १९९८ यता पहिलो पटक विश्वकप खेलिरहेको स्कटल्यान्डको जितमा कप्तान जोन म्याकगिन नायक बने। खेलको २८औँ मिनेटमा उनले गरेको प्रहार नै निर्णायक गोलमा परिणत भयो। चे एडम्सले हाइटीको डिफेन्सलाई दबाबमा पारेपछि बेन ग्यानन–डोकको पासमा म्याकगिनले प्रहार गरेका थिए, जुन विपक्षी खेलाडी बेलेगार्डको खुट्टामा लागेर दिशा परिवर्तन हुँदै गोलपोस्टको भित्र पसेको थियो।

यो जित स्कटल्यान्डका लागि ऐतिहासिक बनेको छ। विश्वकपको मञ्चमा सन् १९९० मा स्विडेनलाई २-१ ले हराएयता स्कटल्यान्डको यो पहिलो जित हो। साथै, कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता (मेजर टूर्नामेन्ट) मा स्कटल्यान्डले ३० वर्षपछि पहिलो जित दर्ता गरेको हो। यसअघि उसले सन् १९९६ को युरोकपमा जित हात पारेको थियो।

प्रशिक्षक स्टिभ क्लार्कको टोली यसपटक विश्वकप इतिहासमै पहिलो पटक समूह चरण पार गर्दै नकआउट चरणमा पुग्ने ऐतिहासिक लक्ष्यमा रहेको छ।

६४ हजार दर्शक क्षमताको गिलेट स्टेडियममा हजारौँको संख्यामा उपस्थित स्कटिस समर्थकहरूको बाक्लो उपस्थिति थियो। खेलको १७औँ मिनेटमा स्कट म्याकटोमिनेको शक्तिशाली प्रहार गोलपोस्टमा ठोक्किँदा स्कटल्यान्ड अग्रता लिनबाट चुकेको थियो।

तर, २८औँ मिनेटमा अग्रता लिएपछि भने स्कटल्यान्डले खेलमा सोचेजस्तो नियन्त्रण राख्न सकेन। फिफा वरीयताको ८४औँ स्थानमा रहेको र राजनीतिक तथा सामाजिक अस्थिरताका कारण घरेलु मैदानमा समेत छनोट खेल खेल्न नपाएर पनि विश्वकपसम्म आइपुगेको हाइटीले उत्कृष्ट खेल प्रदर्शन गर्‍यो। फ्रान्समा जन्मिएका विंगर रुबेन प्रोभिडेन्सले स्कटिस डिफेन्सलाई बारम्बार दबाबमा राखेका थिए। खेलको ८५औँ मिनेटमा हाइटीका स्ट्राइकर फ्रान्ट्ज्डी पिएरोको शक्तिशाली हेडर गोलपोस्टबाट थोरैले बाहिरिँदा स्कटल्यान्ड पराजित हुनबाट जोगियो।

हाइटीलाई पराजित गरेसँगै ३ अंक जोड्दै स्कटल्यान्ड समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। यसै समूहको अर्को खेलमा ब्राजिल र मोरक्कोले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

अब स्कटल्यान्डले आउँदो शुक्रबार मोरक्कोको सामना गर्नेछ भने त्यसपछि मियामीमा ब्राजिलसँग खेल्नेछ। पराजित हाइटीले भने फिलाडेल्फियामा ब्राजिलको सामना गर्ने तालिका रहेको छ।

Ads

सम्बन्धित पोष्टहरू