मुलुकका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन्। संविधानको व्यवस्थाअनुसार असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधानअनुसार प्रदेश सरकारहरू बजेट ल्याउने तयारीमा जुटेका हुन्।
निर्धारित कार्यतालिकाअनुसार मधेश प्रदेशले दिउँसो १ बजे बजेट प्रस्तुत गर्नेछ भने कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट सार्वजनिक गर्नेछ। त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशले अपराह्न ४ बजे तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशले अपराह्न ५ बजे बजेट पेश गर्ने कार्यक्रम रहेको छ।
आगामी आर्थिक वर्षका लागि तयार पारिएका बजेटमा अधिकांश प्रदेशले सुशासन, कृषि, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्। सीमित स्रोत–साधनका बीच उत्पादन वृद्धि, रोजगारी सिर्जना, सेवा प्रवाह सुधार र विकास निर्माणलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको प्रदेश सरकारहरूको दाबी छ।
संघीय सरकारले भने गत जेठ १५ गते नै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेको छ। संघीय बजेटपछि प्रदेश सरकारहरूले आफ्नो बजेट ल्याउन लागेका हुन्।
अब प्रदेश सरकारपछि स्थानीय तहहरूले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारी गरेका छन्। कानुनी व्यवस्थाअनुसार स्थानीय तहहरूले असार १५ गतेभित्र बजेट प्रस्तुत गर्नुपर्नेछ।
संघ, प्रदेश र स्थानीय तहका बजेट सार्वजनिक भएसँगै आगामी आर्थिक वर्षका विकास, सेवा प्रवाह र आर्थिक गतिविधिका प्राथमिकता स्पष्ट हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्