Ads

सुशासन, सेवा प्रवाह र विकास जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल


राष्ट्रपति रामचन्द्र पाैडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि नेपाली जनताले गरेको सङ्घर्ष र बलिदानको मूल उद्देश्य सुशासन, प्रभावकारी सेवा प्रवाह, तीव्र विकास, शान्ति र समृद्धि रहेको बताएका छन्।

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जनताको अपेक्षा पूरा गर्न राज्य संयन्त्रलाई अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक रहेको बताए।

उनले कर्मचारीतन्त्रले प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत नागरिकको मन जित्न सक्नुपर्ने उल्लेख गर्दै स्वउत्प्रेरित, अनुशासित, नैतिकवान् र जिम्मेवार कर्मचारीले मात्र सुशासनलाई व्यवहारमा उतार्न सक्ने बताए।

“प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छ। यसले लोकतन्त्रमा जनताको हित हुन्छ भन्ने भरोसालाई थप बलियो बनाउँछ,” राष्ट्रपति पौडेलले भने।

राष्ट्रपतिले संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुसार स्थापित योग्यता प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए। लोकसेवा आयोगप्रतिको विश्वास र निष्पक्ष प्रणालीकै कारण मेहनती युवाले आफ्नो भविष्य सुरक्षित देख्न पाएको उल्लेख गर्दै उनले आयोगले समयानुकूल सुधार र आधुनिकीकरणलाई निरन्तरता दिनुपर्ने बताए।

लोकसेवा आयोगले कर्मचारी छनोट, बढुवा तथा परामर्शका क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउँदै राष्ट्रपति पौडेलले आगामी दिनमा पनि आयोगले आफ्नो निष्पक्षता, विश्वसनीयता र प्रतिष्ठालाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे।

उनले आयोगले कर्मचारी छनोट प्रक्रियालाई आधुनिक प्रविधिमा आधारित, वैज्ञानिक र समयसापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए। साथै, आयोगको कार्यक्षेत्र विस्तारसँगै गुणस्तरीय सेवा कायम राख्दै भावी चुनौती सामना गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताए।

राष्ट्रपति पौडेलले साढे सात दशकदेखि लोकसेवा आयोगले ‘योग्यता, निष्पक्षता र स्वच्छता’का सिद्धान्तलाई आत्मसात् गर्दै प्रभावकारी रूपमा कार्यसम्पादन गरेको उल्लेख गर्दै यही विश्वास र भरोसा आयोगको सबैभन्दा ठूलो सम्पत्ति भएको बताए। उनले उक्त सम्पत्तिलाई अझ बलियो बनाउँदै लैजान आयोग सफल हुने विश्वास व्यक्त गरे।

Ads

सम्बन्धित पोष्टहरू