फिफा विश्वकपको इतिहासमा अर्जेन्टिनाका कप्तान तथा स्टार फरवार्ड लियोनल मेस्सीले अर्को ऐतिहासिक अध्याय थपेका छन्। विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने मेस्सी विश्वकपको इतिहासमा ६ वटा संस्करण खेल्ने पहिलो खेलाडी बनेका छन्।
अमेरिकाको क्यान्सस सिटीस्थित रंगशालामा बुधबार बिहान अल्जेरियाविरुद्धको खेलमा मैदान उत्रिएसँगै मेस्सीले यो दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्। यसअघि उनले सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र अहिले २०२६ गरी लगातार ६ विश्वकपमा सहभागिता जनाएका छन्।
रेकर्डमा मात्र सीमित नरही मेस्सीले मैदानमा आफ्नो प्रभावशाली प्रदर्शन पनि जारी राखे। उनले खेलको १७औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। कप्तानको जिम्मेवारी सम्हालिरहेका मेस्सीको गोलसँगै अर्जेन्टिनाले उपाधि रक्षा अभियानलाई थप बलियो बनाएको छ।
विश्व फुटबलमा अनेकौँ कीर्तिमान कायम गरिसकेका मेस्सीले ३८ वर्षको उमेरमा पनि आफ्नो उत्कृष्ट लय कायम राख्दै इतिहासका पानामा अर्को सुनौलो उपलब्धि थपेका छन्। उनको यो कीर्तिमानले विश्वकप इतिहासमा नयाँ मापदण्ड स्थापित गरेको छ भने समर्थकहरूका लागि सम्झनलायक क्षण बनेको छ।
प्रतिक्रिया दिनुहोस्