Ads

रास्वपाको सचिवालय बैठक जारी, पहिलो महाधिवेशनको तयारीबारे महत्वपूर्ण छलफल


सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक अहिले पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी रहेको छ। बैठकमा सचिवालय सदस्यहरूको उपस्थिति रहेको र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई केन्द्रमा राखेर महत्वपूर्ण छलफल भइरहेको जनाइएको छ।

सभापति रवि लामिछानेको सचिवालयका अनुसार बैठकमा महाधिवेशनको व्यवस्थापन, संगठनात्मक संरचना सुदृढीकरण, आगामी राजनीतिक कार्ययोजना तथा पार्टीको रणनीतिक दिशाबारे निर्णय लिन छलफल भइरहेको छ। साथै समसामयिक राजनीतिक अवस्था, सरकारका गतिविधि र जनचासोका विषयमा समेत विस्तृत समीक्षा गरिने बताइएको छ।

बैठकमा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह सहभागी नभएको जानकारी दिइएको छ। यद्यपि, महाधिवेशनलाई लक्षित गर्दै पार्टीले आन्तरिक तयारीलाई तीव्रता दिएको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुँदैछ। महाधिवेशनको उद्घाटन समारोहका लागि गेष्टहाउस चौरमा विशेष संरचना निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ।

आयोजकका अनुसार उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गरिँदै छ। महाधिवेशनको बन्दसत्रमा देशभरबाट करिब तीन हजार प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू