Ads

शिशिर खनाल र सुनिल लम्सालमाथि संसदीय मर्यादा उल्लंघनको आरोप


परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभा नियमावली उल्लंघन गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा कडा आपत्ति जनाएको छ।

बिहीबार जारी प्रतिनिधिसभा बैठकका क्रममा मन्त्रीद्वयले सभामुखको आसन र बोलिरहेका सांसदबीचबाट हिँडेर संसदको मर्यादा विपरीत व्यवहार गरेको भन्दै एमालेले विरोध जनाएको हो।

घटना त्यसबेला भएको थियो जब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्ल आफ्नो धारणा राखिरहेका थिए। सोही क्रममा बैठकमा ढिला गरी प्रवेश गरेका मन्त्री खनाल र लम्सालले सभामुखको आसन तथा बोलिरहेका सदस्यबीचको स्थानबाट हिँडेको देखिएको थियो।

प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम (६) मा सभामुखको आसन र बोलिरहेका सदस्यबीचबाट हिँड्न नपाइने स्पष्ट व्यवस्था छ। उक्त प्रावधानको उल्लंघन भएको भन्दै एमालेका प्रमुख सचेतक ऐन महरले संसदमा आपत्ति जनाएका हुन्।

महरले सरकारका मन्त्रीहरूबाटै संसदीय मर्यादा र नियमको उल्लंघन हुनु दुःखद भएको टिप्पणी गर्दै यस्तो व्यवहार स्वीकार्य नभएको बताए। उनले नियम उल्लंघन गर्ने मन्त्रीहरूलाई सभामुखले रुलिङ गरी सचेत गराउनुपर्ने माग पनि गरे।

तर, प्रमुख सचेतकको मागपछि पनि सभामुख डोलप्रसाद अर्यालले मन्त्रीद्वयमाथि कुनै रुलिङ नगरेको बैठकमा उल्लेख गरियो।

यस घटनापछि संसदभित्र संसदीय मर्यादा र नियम पालना सम्बन्धी विषय पुनः चर्चामा आएको छ।

Ads

सम्बन्धित पोष्टहरू